३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


नेपालमा धेरै अघि तेस्रो भेरियन्ट भित्रिएर विध्वङ्श मच्चाइरहेको विज्ञहरूको दाबी


0
Shares

मिरा बस्नेत
काठमाडौं । कोभिड–१९ संक्रमण नियन्त्रण बाहिर गइसक्दा पनि यसलाई मजाक बनाइरहेको सरकारले नेपालमा कोभिडको तेस्रो भेरियन्ट भित्रिसकेको पत्तै पाएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मात्रै नेपालमा कोभिडको तेस्रो भरियन्ट अर्थात ट्रीपल म्युटेन्ट पाइएको पुष्टि गरेको हो ।

हालसम्म नेपालमा यो परिवर्तित भाइरस सहित तीन किसिमको भेरियन्ट पुष्टि भएको छ । ७ वटै प्रदेशबाट संकलित ३५ वटा नमुनाको जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा अर्थात ९७ प्रतिशतमा नयाँ भेरियन्ट पुष्टि भएको हो । तर, विज्ञहरूको भने मन्त्रालयले सूचना सार्वजनिक गर्नु अघिनै तेस्रो भेरियन्ट नेपालमा भित्रिसकेको दाबी छ । जसले मत्थर हुँदै गइरहेको कोभिड संक्रमण दिनदिनै बढिरहेको र मृत्युदर पनि बढाएको उनीहरुको ठहर छ ।

नयाँ भेरिएन्टलाई अत्यधिक संक्रामक भन्दै विश्व स्वास्थ्य संगठनले वैशाख २७ गतेनै ‘विश्वव्यापी चासोको भेरिएन्ट’ भनि घोषणा गरिसकेको छ । तेस्रो भेरियन्ट नेपालमा भित्रेर स्थिति भयावह बनाइसकेपछि मन्त्रालयले तेस्रो भेरियन्ट भेटिएको पुष्टि गर्नुको कुनै औचित्यनै नभएको विज्ञहरूको भनाइ छ । यसले त्रासमा रहेका जनतालाई झनै त्रसितमात्र बनाएको उनीहरुको बुझाइ छ ।

तेस्रो भेरियन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने भन्दै सरकारले अहिलेको अवस्थामा कुन भेरियन्ट नेपालमा भित्रियो भन्दा पनि संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा भाइरोलोजिष्ट बासुदेव पाण्डेको जोड छ ।

हालसम्म विश्वका ३१ देशहरूमा कोरोना भाइरसको तेस्रो भेरियन्ट देखिएको छ । देशमा संक्रमण दर बढिरहँदा प्रधानमन्त्री आफ्नै पद जोगाउन व्यस्त हुनुभयो । स्वास्थ्य मन्त्रालय संक्रमितको विवरणमात्र सार्वजनिक गर्दै बस्यो भने कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गठित सिसिएमसी निस्क्रिय नै रह्यो ।

तेस्रो भेरियन्ट भित्रेर विध्वङ्श मच्चाउँदा पनि थाहा नपाएको सरकाले आफैँले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरिसकेपछि जनताको जिवनरक्षामा अब त ध्यान देला की ?