
सुरेन्द्र भण्डारी
झापा । शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको काम अहिले शान्ति सुरक्षामा मात्र केन्द्रित छैन ।
कोभिड– १९ को दोस्रो लहर शुरु भएसंगै कोरोना सक्रमितको संख्या झापामा ह्वात्तै बढ्नु, अस्पतालमा वेड अभाव हुनु र अक्सिजन सिलिण्डरको समेत चरम अभाव देखिएपछि अक्सिजन सिलिण्डर संकलनमा प्रहरी आफैं जुटेको छ ।
भारतको पश्चिम वंगाल र विहार राज्यसंग सिमा जोडिएको झापामा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ सय ८२ जनाले ज्यान गुमाएका छन् ।
८ हजार २ सय २९ संक्रमितमध्ये ४ सय १७ जना कोभिडको नयाँ भेरियण्टका कारण सिकिस्त भएका छन् ।
त्यत्तिनै संख्यामा पूर्वी पहाडी जिल्ला र नेपालका विभिन्न ठाउँबाट कोभिडका विरामी ल्याइएको छ ।
उनीहरुलाई मेची प्रादेशिक अस्पतालसहित जिल्लाका विभिन्न कोभिड अस्पतालमा राखिएको छ ।
तर, उनीहरुका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डरको भने चरम अभाव भएको छ ।
अक्सिजन सिलिण्डरको अभाव देखिएपछि इलाका प्रहरी कार्यालय अनारमनीले अक्सिजन सिलिण्डर सङ्कलन शुरु गरेको छ ।
हालसम्म एक सय ८६ वटा अक्सिजन सिलिण्डर सङ्कलन भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताउनु भयो ।
प्रहरीले संकलन गरेका सिलिण्डरमध्ये बिर्तामोडको विएण्डसी अस्पतालमा धेरै खपत हुने गरेको छ ।
त्यस्तै बिर्तासिटी अस्पताल, मेची प्रादेशिक अस्पताल र बिर्तामोड नगर अस्पतालमा समेत अक्सिजन सिलिण्डर जाने गरेको कपुरी व्रदर्स इन्टरप्राइजेजका सञ्चालक किरण कपुरीले बताउनुभयो ।
प्रहरीले संकलन गरेर ल्याएका खाली अक्सिजन सिलिण्डरलाई भर्दै अस्पतालको माग अनुसार पठाउने गरेको कपुरीको भनाइ छ ।
जिल्लामा अक्सिजन सिलिण्डरको अभाव देखिएपछि चार सय सिलिण्डर चीनबाट ल्याइने भएको छ ।
‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत ४८ लिटर क्षमताका चारसय सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने अभियानका संयोजक महेन्द्र कुमार गिरीले बताउनुभयो ।
चार सय थान सिलिन्डर खरिदका लागि लागि ढुवानीसहित ६० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
अभियानमार्फत अक्सिजन सिलिण्डर खरिदका लागि हालसम्म ३० लाख रुपैयाँ सहयोग संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्