
म्याग्दी । बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष संचालन गरिएको छ ।
एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच÷पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो ।
तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ ।
निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टिसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
‘दुई वटा एचडियु शय्या भएको आइसोलेशनका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट सिधै पाइपमार्फत अक्सिजन आपूर्ति हुन्छ’, उहाँले भन्नुभयो, ‘एक–दुई दिनमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरु हुन्छ ।’
प्रदेश सरकारले पठाएको ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताउनुभयो ।
दश वटा विद्युतीय शय्या जडान गरिएको छ । गत वर्ष शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।
आइसोलेशनमा बिहीबार १९ जना उपचाररत छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेसन बनाउन चिकित्सकहरुले सुझाव दिएका थिए ।
अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेसनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताउनुभयो ।
जिल्लामै सङ्क्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ
प्रतिक्रिया दिनुहोस्