
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना उपलब्ध भएपछि राहत मिलेको छ ।
अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको छ ।
बिहानको छाकमात्रै रु २० मा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले मासिक रु ५० हजार सहयोग गर्न थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर रु २० मा बिहानको खाना खुवाउन शुरु गरेको थियोे ।
पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे ।
अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ ।
उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ ।
यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्