
काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले साझाले यस्तो आग्रह गरेको हो ।
संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर पदमुक्त गर्नुपर्दछ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न पनि साझाले आह्वान गरेको छ ।
संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको साझाको ठहर छ ।
प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो, साझाले भनेको छ।
प्रतिक्रिया दिनुहोस्