
काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । नयाँ सरकार गठनका लागि कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गर्न सर्वदलीय बैठक बोलाएको हो ।
बैठकमा सहभागी हुन जनता समाजवादीका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु बुढानिलकण्ठ पुग्नु भएको छ । सर्वदलीय बैठकमा माधव नेपाल पनि सहभागी हुने स्रोतले बताएको छ ।
यसअघि आजै बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाअभियोग लगाउनसहितका विकल्पबारे छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न समय कम दिएकोप्रति आपत्ति जनाएको छ ।
बैठकपछि सञचारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्मविपरीत अघि बढेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएकै अवस्थामा नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज साँझ ५ बजेसम्म समय दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्