
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गर्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले कांग्रेस सभापति देउवालाई फोन गरेर तीनवटा प्रस्ताव राखेको बताउनुभयो ।
‘मैले देउवाजीलाई फोन गरेर तीनवटा विकल्प प्रस्तुत गरेको छु,’ उहाँले भन्नुभयो, ‘तपाईंहरू सरकार बनाउनुस्, हामी प्रतिपक्षीमा बसेर शान्त र सहयोगी भावनाले रचनात्मक सहयोग गर्नेछौं ।’
उहाँले थप्नुभयो, ‘अर्को विकल्प पनि मैले दिएको हुँ, राष्ट्रिय सरकार बनाउने तपाईंहरूको चाहना हो भने आउनुस् मेरो नेतृत्वमा सरकार बनाऔँ ।’
यस्तै आफूले तेस्रो विकल्प पनि दिएको ओलीले बताउनुभयो । उहाँले थप्नुभयो, ‘फुटको राजनीति नगर्नुस्, उपयुक्त विकल्प केही छ भने भन्नुस्, छलफल गरौं ।’
आफूले तीनवटा विकल्प दिएको र ति विकल्पहरूमा छलफल गर्न आफू तयार रहेको बताउनुभयो ।
यस्तै उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो । ‘जिम्मेवारी मैले लिएको छु, अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् भन्दा पनि भएन ।’
त्यसैगरी उहाँले विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउन आग्रह गर्दै नयाँ सरकार बनेको खण्डमा शुभकामना दिएर रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘रचनात्मक सहयोग हुनेछ, सधैँको किचकिच हुँदैन, मेरो दलले सहयोगको भावना राख्छ ।’
प्रतिक्रिया दिनुहोस्