२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारत र चीनबाट अक्सिजन आउन थाल्यो– उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएसी)का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका – नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापी सहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरू भारत र चीन लगायतका देशबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताउनुभएको हो ।

उहाँले अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने जनाउँदै जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी राष्ट्रहरूबाट स्वास्थ्य सामाग्रीहरू सहयोग आएको भन्दै स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने जानकारी दिनुभयो ।

काठमाडौंको सामाखुसीमा काठमाडौं महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका – नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापी सहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ ।

अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका बिरामीहरूलाई बचाउनको निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डा. सुमनलाल डंगोलले बताउनुभयो । केन्द्रमा अरु स्वास्थ्य अवस्था ठिक भएका तर अक्सिजन चाहिने विरामीलाई अस्पतालले रिफर गरे अनुसार थेरापी मार्फत अक्सिजन दिईने उहाँले जानकारी दिनुभयो ।