१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ सरकार गठनको दौडमा नलाग्ने ठाकुर पक्षको भनाइ


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूहरू नयाँ सरकार गठनको दौडमा नलाग्ने जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफू पक्षीय सांसदहरूको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महन्थ ठाकुरले आफूहरू विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताउनुभयो । उहाँले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको विरोधमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ठाकुरले संविधान संशोधन गर्नका लागि ५ सदस्यीय कार्यदल बनाइएको र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको पनि जानकारी गराउनुभयो । जसपा नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सीका लागि नलागेको बताउनुभयो । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उहाँको भनाइ थियो ।

नेता महतोले आफूहरू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरूसँगको सहमतिका आधारमा सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको, मधेश आन्दोलनका सन्दर्भमा मुद्दा लागेका १ सय २० जना नेता कार्यकर्तालाई मुद्दा फिर्ता गरिएको र दोस्रो चरणमा पनि बन्दीहरूलाई छुटाउने सम्बन्धमा प्रक्रिया अगाडी बढेको समेत बनाउनुभयो ।