
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिसमक्ष पेश भएका प्रधानमन्त्रीको दुवै दावी किर्ते भएको आरोप लगाउनुभएको छ ।
शुक्रबार राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेपछि अध्यक्ष थापाले यस्तो लेख्नुभएको हो ।
अध्यक्ष थापाले दुवै दावीमा धारा ७६ को उपधारा ५ अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको जिकिर गर्नुभयो । उहाँले दुवै काम जाली भएको बताउँदै संविधानबमोजिम चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको छ ।
उहाँले अगाडि लेख्नुभएको छ, ‘यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’
शुक्रबार साँझ ५ बजेसम्म पेश भएका दुवै दावीमा प्रतिनिधिसभामा भएको सदस्य संख्या भन्दा धेरै सांसदको हस्ताक्षर प्रस्तुत गरिएको छ । देउवा पक्षले १ सय ४९ सांसदको हस्ताक्षर पेश गर्दा ओली पक्षले १ सय ५३ सांसदको हस्ताक्षर पेश गरेका थियो ।
प्रतिक्रिया दिनुहोस्