
काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै अन्य दलहरुसँगको सहकार्यमा राजनीतिक र कानुनी लडाइ लड्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले संविधान र लोकतन्त्रिक मुल्य मान्यतालाई प्रधानमन्त्री र राष्ट्रपतिबाट छियाछिया पार्ने काम भएको जनाएको छ ।
बैठकपछि पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महतले मध्यरातमा नेपाली जनता सुतेकै अवस्थामा षड्यन्त्रपुर्वक संसद विघटन गरिनु घोर अलोकतान्त्रिक र संविधान विरोधी काम भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गरेपछि काँग्रेसको आकस्मिक बैठक बसेको हो ।
राष्ट्रपति भण्डारीले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणासमेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले हिजो राति साढे १० बजेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुवै दाबी खारेज गर्नुभएको थियो ।
त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ मंसिर ३ गते निर्वाचन गर्ने मिति प्रस्ताव गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गर्नुभएको थियो ।
तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो । बिहिबार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएर आह्वान गर्नुभएको थियो । सोही समयसीमा अनुसार हिजो बिहानैदेखि नयाँ सरकार गठनका लागि कसरतमा रहेका दलहरुले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली आफैंले सरकारको नेतृत्वका लागि दावी प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्