१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘प्रधानमन्त्री र राष्ट्रपतिको कदमको राजनीतिक र कानुनी उपचार खोज्छौं, सांसदलाई काठमाडौं बोलाइसक्यौं’


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको राजनीतिक र कानुनी उपचार खोज्ने जनाएको छ ।

शनिबार सिंहदरबारमा भएको विपक्षी दलहरूको बैठकबाट बाहिर निस्कँदै पार्टीका नेता वर्षमान पुनले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताउनुभएको हो । उहाँले भन्नुभयाे, ‘संवैधानिक विषय भएकाले न्यायालयमार्फत यसको उपचार खोज्छौं ।’

पुनले गठबन्धनले आफ्ना सांसद्लाई काठमाडौं बोलाइसकेको पनि जानकारी दिनुभएको छ । पार्टीको बैठकबाट यस विषयमा आधिकारिक धारणा बनाउन काठमाडौं बाहिर रहेका सांसदलाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ बमोमिज राष्ट्रपतिले गरेको आह्वानमा केपी शर्मा ओली गरेको दावी कानुनी, संवैधानिक र तर्कसंगत नभएको पुनले बताउनुभयो ।

‘केही बेर अघिको पत्रकार सम्मेलनमा आफूसँग ९३ जना सांसद छ, विपक्षीले सरकार बनाएको खण्डमा रचनात्मक सहयोग गर्छु भन्ने अनि केहीबेर पछि गएर बहुमतको समर्थन छ भन्न सुहाउँछ ?,’ उहाँले प्रश्न गर्नुभएको छ ।

राष्ट्रपति र सरकारको कदमविरुद्ध ५ दलीय गठबन्धन बनेको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सांसदहरू रहेका छन् ।