
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमतसंग्रह हुनुपर्ने बताउनुभएको छ ।
संसद् विघटन र मध्यावधि निर्वाचन घोषणापछि वक्तव्य जारी गर्दै विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था जनताको चाहना र आवश्यकतासँग मेल नखाएकाले यो सफल नहुने आफूहरूको निस्कर्ष सही साबित भएको दाबी गर्नुभएको हो ।
लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको वक्तव्यमा उल्लेख छ ।
फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई झन् ठूलो अन्तरविरोध सङ्कटमा धकेल्ने चालमात्र भएको विप्लवको तर्क छ । जारी संकटको निकास निर्विकल्प रूपले समाजवाद मात्र हुने र यो पार्टीको मत, जनताको माग र चाहनासँग जोडिएको उहाँको भनाइ छ ।
संसद्वादी पार्टी, नेता र सरकार असफल भएकाले अब राज्यको संकटलाई उचित निकास दिने जिम्मा जनतालाई प्रदान गर्नुपर्ने तर्क गर्दै उहाँले जनतालाई नै दलाल पुँजीवाद या वैज्ञानिक समाजवाद रोज्ने जिम्मा दिनुपर्ने माग गरेका छन् ।
जनमतसंग्रहका लागि दलहरू तयार हुने हो भने संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्