
प्रज्ञा तिमल्सीना
काठमाडौं । मुलुक कोरोना महामारीको उत्कर्षमा रहेको बेला सरकारले आगामी कात्तिक २६ मा पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निवार्चन गर्ने घोषणा गरेको छ ।
महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।
कोरोना संक्रमणकै बीचमा शक्ति राष्ट्र अमेरिका र छिमेकी मित्र राष्ट्र भारतमा चुनाव भयो । त्यही चुनावका कारण दुवै देशमा महामारी भयावह भयो । यतिसम्म की भारतमा निर्वाचनमा खटिएका एक हजार ६ सय जना शिक्षक संक्रमित मात्र भएनन्, मृत्युवरण गरे ।
निर्वाचनका कारण अन्य देशमा कोरोना महामारी झनै व्यापक भएको तथ्यहरू बिर्सेर नेपालमा पनि ‘अर्लि इलेक्सन’ घोषणा भएको छ । कोरोना संक्रमणले जनता आहत भएको बेला हुने निर्वाचनले झनै महामारी फैलने र जनताको स्वास्थ्य जोखिममा पर्ने विज्ञहरूले औँल्याएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक दूरी कायम गर्दै चुनाव गर्न सकिने बताउनुहुन्छ ।
प्रधानमन्त्री ओलीको यो तर्कसँग जनस्वास्थ्यविद्हरू पटक्कै सहमत देखिँदैनन् । कात्तिक र मंसिरमा निर्वाचन गराउनु जनस्वास्थ्यको हिसाबले निकै घातक र गैरजिम्मेवारपूर्ण हुने उनीहरूको तर्क छ । जनस्वास्थ्य विज्ञ डा. पदमबहादुर चन्द संक्रमण कसरी निर्णय गर्न सकिन्छ भन्नेतिर ध्यान दिनुको साटो जनताको स्वास्थ्यमाथि नै खेलवाड गर्ने गरी निर्वाचनमा जानु गतल भएको बताउनुहुन्छ ।
अमेरिका र भारतमा महामारीबीच चुनाव हुने हाम्रो देशमा किन हुन सक्दैन भन्ने प्रधानमन्त्री ओलीको तर्क छ । तर, डा. चन्द नेपालमा महामारी नियन्त्रणका लागि स्रोत र साधनको अवस्थाको मूल्याङ्कन गर्दा अबको केही वर्ष चुनावलगायतका भिडभाड हुने क्रियाकलाप गर्न नहुने सल्लाह दिनुहुन्छ ।
अमेरिका र भारतमा निर्वाचनकै कारण भएका भिडभाड, सभा सम्मेलनका कारण कोरोना महामारी अत्यासलाग्दो तरिकाले फैलियो । नेपालमा अहिले नै राज्यले कोरोना महामारी नियन्त्रण गर्न नसकिरहेको बेला निर्वाचनका निम्ति हुने सभा–सम्मेलन तथा भिडभाडले झनै भयावह स्थिति आउन सक्नेतर्फ गम्भीर बन्नुपर्छ । सभा–सम्मेलन र भिडभाडले कोरोना संक्रमण डँडेलोझैँ सल्कने वास्ताविकता भुल्नुहुँदैन ।
प्रतिक्रिया दिनुहोस्