
काठमाडौं । नेकपा एमालेले पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका ११ सांसदसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी न्यौपाने, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमार चौधरी र कल्याण्ली खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
‘अहिलेलाई स्पष्टिकरण सोधेका छौं,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको जवाफअनुसार थप कारबाही अघि बढाउने निर्णय भएको छ।’
स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो ।
यद्यपि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रूपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरूलाई स्पष्टीकरण नसोधिएको बैठकपछि ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्