
काठमाडौं । सरकारले निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ ।
गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई शनिबार मन्त्रालयमा डाकेर सरकारले हालै जारी गरेको कोभिड महामारी नियन्त्रण सम्बन्धी अध्यादेश अनुसार निषेधाज्ञामा कडाइ गर्न निर्देशन दिनुभएको हो ।
सर्वसाधारणमा लापरबाही बढेको भन्दै भिडभाड र अनावश्यक हिँडडुललाई नियन्त्रण गर्न सचिव न्यौपानेले निर्देशन दिनुभएको हो । शान्ति सुरक्षा महाशाखा प्रमुख जनकराज दाहाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली समेत सहभागी भेटघाटमा निषेधाज्ञाका पालना नगर्नेलाई अध्यादेश अनुसारको कारबाही चलाउन पनि निर्देशन दिइएको थियो ।
सरकारले केही दिन अघि जारी गरेको अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजन बाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था गरिएको छ । अनुमति विनाका सवारी साधन चलाएमा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।
यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था गरिएको छ । यस्तै विना काम घर निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था गरिएको छ । गृहमन्त्रालयले शनिबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई सोही ब्यहोराको परिपत्र गरेको छ ।
प्रतिक्रिया दिनुहोस्