२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


चीनले दिएको अक्सिजन आज काठमाडौं आइपुग्ने


0
Shares

सिन्धुपाल्चोक । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपालका लागि अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी हुँदै काठमाडौं पठाइएको छ ।

सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालयले भन्सार प्रक्रिया पुरा गरेर शनिबार साँझै काठमाडौं पठाएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी हुँदै काठमाडौं पठाएको थियो ।

केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।

लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।

लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाउने तयारी गरेको छ ।

लिक्विड अक्सिजन अति संवेदनशील भएकाले दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं पठाइएको गौतमले बताउनुभयो ।

`हिजो साँझ नै यहाँबाट हिडेका हुन्, अति संवेदनशील र हेभी छ, ३ घण्टाको बाटो भएपनि बिस्तारै जाने हुँदा आज काठमाडौं पुग्नेछ`, गौतमले भन्नुभयो ।