
-संजिव कार्की
गत भदौमा संसदमा गगन थापाले बोलेका शब्द सापटी लिएर लेख्दैछु ‘हाम्रो बा बिरामी भएको भए हामी भन्थ्यौ ‘बा आराम गर्नुस, धपेडी नगर्नुस, पिडा कम गर्नुस ‘ भन्थ्यौ अब देशकै अभिभावक बा, प्रधानमन्त्रीलाई सबैले भनौ बा रेस्ट गर्नुस ! बिरामी रोगी अशक्त बाबुको आरोग्यता नचाहने सन्तान कमै हुन्छन । यसर्थ हामी नेपाली पनि आफ्ना पिता समान अभिभावक प्रधानमन्त्रीलाई भो बा अब धपेडी नगर्नुस भनेर किन नभन्ने ? बा तपाईले जे जति गर्नु भयो त्यो देशले उच्च मुल्यांकन गरेको छ ,गर्छ तर अब शरीरले साथ दिएको छैन छोड्दिनुस काम ।
तपाई निसन्तान हुनुहुन्छ । तपाईको लागि सबै देशबासी आफन्त हुन् । सन्तान हुन । त्यसैले देशबासीले चाहेको आरोग्यता हो । तपाईको सु–स्वास्थ्य र दीर्घ जीवन हो । तपाईको शरीरलाई अब आरामको जरुरत छ आराम गर्नुस, चिन्ता नलिनुस । देश हाँक्न तपाईकै पार्टीलाई बैधानिकता छ । त्यहाँ एकसेएक नेताहरु छन । सकिन्छ भने नयाँ पुस्ताको लागि घोषणा गरेर बाटो खोलिदिनुस । त्यसो गर्न पुष्प कमल दाहाल प्रचण्डसँग भएको सम्झौता बाधक हुन्छ, यदि इमान नछोड्ने हो भने अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको दौडमा ‘वार्म अप’मा हुनुहुन्छ । उहाँलाई हार्दिकता पूर्वक तालाचाबी दिनुस । देशमा सुशासन चलाउन उपाय सिकाई आफू विशिस्ट सल्लहाकार बन्नुस, देशले जय भन्नेछ ।
१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको शरीरले आज अर्काको मृगौला नचिनेर समस्या हुदै गरेको, बारम्बार समस्या निम्तिन थालेकोले प्रधानमन्त्रीको शरीरबाट अब धेरै कामको अपेक्षा गर्नु पनि हुन्न । उहाँ गल्नु भएको छ । रोगले भित्र भित्रै गालेको छ । जसको उदाहरण हो साउनमा उपचार गरेर आएको १० दिन भित्र पुनः सिंगापुर जानु पर्यो र भदौ ५ देखि भदौ २० सम्म १६ दिन सम्म मुलुक बाहिर उपचार गरेर बस्नु पर्यो । यसरी स्वदेश विदेश गरि पटकपटक धेरै पटक उपचारमा समय खर्चनु पर्दा देशको लागि खर्चने समय पुग्दैन । पहिलेका प्रधानमन्त्री भन्दा पनि प्रधानमन्त्रीमा कार्यबोझ अरु थपिएको छ । अरुतिरका अधिकार पनि कटौती गरेर प्रधानमन्त्री पदलाई अरु थप अनावश्यक जिम्वेवारीको गह्रौ भारी बोक्न उक्साइएको छ ।
जसले गर्दा प्रधानमन्त्रीलाई थप व्यस्तता र धपेडी बढेको छ । यस्तो बेला प्रधानमन्त्रीलाई जोताउनु पाप हुन जान्छ । अधिक कार्यभार शरीर र दिमागको क्षमता भन्दा बढी बोझ भयो, बोकाइयो भने दुर्घटना निम्तिने खतरा सामान्य भन्दा धेरै रहन्छ । दुखद दुर्घटना देख्ने रहर नेपाल र नेपालीको आदत होइन । स्वास्थ्य संबेदनशीलताको कारण धेरै खट्न, धपेडी गर्न र हुलमुलबाट जोगिन प्रधानमन्त्रीलाई डाक्टरहरुले सधै सतर्क गराएको कुरा बारम्बार सार्वजनिक भएको विषय हो । शरीरमा संक्रमणको खतरा सधै रहेकोले भिडमा जान नहुने, बोझ लिन नहुने कारण पनि प्रधानमन्त्रीको खराब स्वास्थ्यको मार देशले खप्नु र व्यहोर्नु पर्छ । बिरामी, रोगी अशक्त वृद्द गोरु राँगा, पशु ,जोत्न, गधा र खच्चरलाई भारी बोकाउन त पाप धर्मको ख्याल गरेर हामी काममा लगाउँदैनौ भने दीर्घरोगी प्रधानमन्त्रीलाई मानवीयता भुलेर काममा जोताउदा पाप धर्मको हेक्का किन नराख्ने ? प्रधानमन्त्री मेसिन र कलपुर्जा होइन । मेसिन पनि बिग्रेको भयो भने त्यसको कार्यक्षमतामा कमी आउँछ । झन् मान्छेको बिग्रेको शरीरलाई कति दुःख र कष्ट दिने ?
आराम गरेर स्वास्थ्य लाभ गर्ने बेलामा बारीमा घाँस काटन बुबा हिड्नु भयो भने असल छोराछोरीले हँसिया खोसेर, थर्काएर, घुर्क्याएर, फकाएर , फुर्क्याएर ,जसरी हुन्छ बुबालाई कष्ट दिनबाट रोक्छन । अब हाम्रा प्रधानमन्त्रीलाई उनको पार्टी नेकपा लगायत सिंगो देशले आराम गर्न सुझाउनु पर्छ । बृद्द रोगी शरीरलाई काममा जोताउन हुँदैन । उहाँलाई काम गर्न सक्छु जस्तो लाग्नु र साच्चिकै काम गर्न सक्नु नितान्त फरक कुरा हुन् ।
प्रधानमन्त्रीको उच्च मनोबल र दरो आत्मबलको कारण उहाँलाई जे लागेको छ त्यो यथार्थ होइन । जसको पुष्टी प्रायः अस्पताल धाउनुपर्ने र धेरै समय उपचारमा नै व्यस्त रहनुपर्ने दैनिकीले बताउँछ । अहिले पनि नियमित स्वास्थ्य परिक्षण भनेर अति गोप्य र सुटुक्क ग्राण्डी अस्पताल लगियो । सर्वत्र चासो चर्चा र हल्लाखल्ला भए पछि नियमित स्वास्थ्य जाँच भनियो । तर मृगौला एक पटक होइन दुई दुई पटक डायलसिस गरियो । के रुमाल धोए झैँ, खसीको आन्द्रा भुडी धोए पखाले झैँ सहज र सामान्य कुरा हो मृगौला डायलसिस ? अस्पतालको बुलेटिनमा समेत नियमित चेकजांच भनियो । जब प्रचन्डले डायलसिस भएको कुरा फुत्काए तब अस्पताल मृगौला डायलसिस गरिएको बुलेटिन निकाल्न बाध्य भयो ।
हुनत स्वास्थ्य र धनको गोपनियताको हक हुन्छ भनेर स्वीकार गरिएको छ । तर देशको कार्यकारी प्रधानमन्त्री सधै बिरामी भै रहने, दैनिक शासन प्रशासनमा असर परिरहने अनि उनको स्वास्थ्य बारे ढाँटी रहने हुदाँ उनको स्वास्थ्य कस्तो छ भनेर सोध्ने जनताको हक छ, छैन ? मृगौला डायलसीस गर्नु सामान्य हो भने असामान्य स्थिति चै के हो ? सार्वजनिक व्यक्ति नभएर सामान्य व्यक्तिको हकमा स्वास्थ्य अवस्था व्यक्तिको अनुमति बिना घर परिवारलाई पनि भन्न हुन्न भन्छन । तर देशको प्रधानमन्त्री उहाँको स्वास्थ्य कै कारण देशको शासन प्रशासनमा आउने अबरोधको कारण जनता उनको स्वास्थ्य स्थिति जान्ने हक राख्छन ।
देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जनताले चिन्ता र चासो व्यक्त गर्नु अस्वाभाविक कसरी हुन्छ ? मृगौला प्रत्यारोपण या हप्तामा तीन पटकसम्म डायलसिस अबको विकल्प हो भन्छन मृगौला रोग विशेषज्ञहरु । यसरी सँधै उपचारमा व्यस्त रहनुपर्ने ओलीबाट देशको कार्यकारी प्रधानमन्त्रीले गर्ने कार्य सम्पादन गर्न सम्भव होला त ? यो विचारणीय प्रश्न हो स्वयं नेकपा र देशकै लागि । अस्वस्थ्य प्रधानमन्त्रीलाई काममा जोताउनु कति नैतिक कति अनैतिक यो एउटा प्रश्न भयो तर देश चलाउन स्वास्थ्य बाधक बन्यो भने त्यसलाई स्वीकार गरेर अब म बिश्राम गर्छु, सल्लाह दिन्छु राजीनामा गरेर सुखान्त रिटायार्मेंट रोज्छु भन्ने उदघोष प्रधानमन्त्रीबाट जनता र नेकपाका नेता कार्यकर्ताले सुन्ने दिन आउनुपर्छ ।
देशमा लोकतन्त्र बहाली गर्न कस्टकर १४ वर्ष जेल जीवन बिताएको मान्छेले बिधि र पद्दतिको लागि लड्नु भएको कुरा पक्कै बिर्सनु हुन्न । एउटा अथक प्रजातान्त्रिक योद्दा केपी शर्मा ओलीको खाँचो, अभिभाकत्व नेकपालाई मात्र हैन देशलाई सँधै छ । तसर्थ उहाँको दीर्घ जीवन र सुस्वास्थ्य जनताको चाहना हो । ओलीसंग निरंकुशताका विरुद्द लडेको अनुभव छ । देशमा बिभिन्न मन्त्रालय हुँदै दुई पटक प्रधानमन्त्री भएर देशको शासन प्रशासन चलाएको ज्ञान छ । देश दुनियाँ बुझेको विद्द्वता छ । ती सबै देशका पुंजी हुन् । यो पुँजीलाई पुंजिकृत गर्दै ससम्मान देशले उहाँको क्षमताबाट लाभ लिनुपर्छ । हैरानी ,धपेडी र बोझ मुक्त जीवनयापनको बातावरण बनाएर यथोचित सम्मान गरीराख्न ढिला गर्नु हुदैन ।
सामान्य मान्छे, ले म्यानले समेत पत्याउदैन मृगौला धुनु र खसीको आन्द्रा भुँडी धुनु उस्तै उस्तै कुरा हुन भने । तर प्रधानमन्त्रीका सल्लाहकार टिम उहाँको स्वास्थ्य अवस्थालाई सामान्यीकरण गरेर जनतालाई गुमराहमा राख्ने चेष्टा गर्छन जुन नितान्त गलत हो । जे भएको छ ,जे भएको हो त्यो भन्न नहुने किन ? विहीबार डाक्टरको आग्रह अटेरी गरेर प्रधानमन्त्री बालुवाटार आउनु भएको कुरा एक कान दुई कान मैदान हुदैछ । उहाँको स्वास्थ्य स्थिति सन्तोषजनक छैन । आफ्नो आत्मबलको कारण प्रधानमन्त्री जोड बलले अस्पताल छोड्नु भएको हो । तर खतरामुक्त र स्वाभाविक भएर, रोग सामान्य अवस्थामा आएर होइन । एकपटक मृगौला प्रत्यारोपण गरिसकेको बिरामीलाई पुनः प्रत्यारोपण गर्दा जोखिमको मात्र बढी हुने हुनाले नियमित डायलसिस गरेर बचाउनु नै उचित विकल्प रहेको निस्कर्ष चिकित्सकहरुको रहेको कुरा बाहिरिएको छ । हप्तामा तीन दिन, दिनको चार घण्टा डायलसीस गर्नुपर्ने निचोडमा चिकित्सकको टोली पुगेर डायलसिस रूम सेटअप बालुवाटारमा नै गर्ने तयारी बुझिन्छ । जसको लागि चिकित्सक, नर्स ,सानो ल्याब लगायत ब्याकअप पनि राख्नुपर्ने हुन्छ ।
यसरी देशको प्रधानमन्त्री बिरामी भै रहँदा देशले चुकाउने मुल्य प्रधानमन्त्रीकै स्वास्थ्य जस्तै बहुमुल्य छ । प्रधानमन्त्री ओलीको उपचार स्वदेशमा मात्रै हैन फेरि बिदेशमा जहाँ गएर गर्दा पनि हुन्छ त्यो आर्थिक भार देश ब्योहोर्न तयार छ । बिगत देखि बेहोरेको हो । पछिल्लोपटक सिंगापुरको खर्च मात्र कसले बेहोर्यो पारदर्शिता छैन । प्रधानमन्त्री पदमुक्त भएर तनावरहित हुनुपर्छ । बोझ बोकाएर, जिम्मेवारीको गह्रौ भारीबाट उहाँले स–सम्मान छुटकारा लिनुपर्छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर देश चिन्तित छ, राजनीतिमा पक्ष विपक्ष हुन्छ तर विपद ,रोग, बिराममा, दैवी प्रकोपमा सत्तापक्ष प्रतिपक्ष केही हुन्न । प्रधानमन्त्रीको स्वास्थ्यप्रति अरु पार्टीका नेता कार्यकर्ताहरु पनि चिन्तित र संवेदनशील छन । मानवियता सबै सिद्दान्त बाद र आदर्शमा अटाउँछ । प्रधानमन्त्रीले पद मुक्त हुने चाह राख्दा देशमा अस्थिरता बढ्ने सम्भावना पनि कहिंकतै छैन । नेकपा झन्डै दुई तिहाई नजिकको जनमत अझै तीन बर्षको लागि बैधानिक हैसियतमा छ । देशको हित चाहने जनताको भलो देख्ने प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कारण देशको गतिलाई अरु धिमा बनाउनु हुन्न । सुखी नेपाली र समृद्द नेपालको तपाईले देखेको सपना पुरा गर्न पनि देशलाई स्वस्थ नेतृत्व दिनु आवश्यक हुन्छ । जसको लागि बाधक बन्न तपाईको मनले दिंदैन । आफ्नै र आफुले देखाएको सपना माथि कुठाराघात कसले गर्छ र ? अब पनि प्रधानमन्त्री नै भैरहने सत्तामोह त्याग्नु र उदाहरण बन्नु प्रधानमन्त्रीको लागि अवसर पनि हो ।
प्रिय प्रधानमन्त्रीज्यू , तपाईको आवश्यक्ता देशलाई अझै दशौं वर्ष छ । तपाईको प्रेरणा र आशिर्वाद , हौसला र सपना नयाँ पुस्ताको लागि सधै चाहिन्छ । तपाईको अनुभव देश चलाउनेले सँधै खोज्छन । तसर्थ तपाई धेरै वर्ष बाच्नु पर्छ । तपाईलाई हामी असमयमा गुमाएर हैन साथमा पाएर सँधै रमाउँछौ , तपाईको शतक आयूको कामना गर्दै पुनः शिघ्र स्वास्थ्य लाभको लागि भगवानसँग प्रार्थना गर्दछु ।
प्रतिक्रिया दिनुहोस्