
काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज सर्वोच्च अदालत जाने भएका छन् ।
कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद आज सर्वोच्च जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको गठबन्धन आज सर्वोच्चमा रिट लिएर जान लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा बैठक तोक्न परमादेश माग्ने तयारीमा उनीहरू छन् ।
यसअघि हिजो नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने काम नसकिँदा आज मात्र अदालत जान लागिएको नेताहरुले बताएका छन् ।
गत शुक्रबार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो । देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका सांसदहरू नै सर्वोच्च जान लागेका हुन् ।
शुक्रबार राति नै सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुभएको छ । वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्