
फाइल तस्वीरः फेसबुक ।
बाँके । बाँके जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि पुनः थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताउनुभयो। जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।
बाँकेमा पाँचौं पटक निषेधाज्ञा बढाइएको हो । जिल्लामा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ । नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो । बाँकेमा पछिल्ला दिनमा मृत्यु र संक्रमणदरमा कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस्