
बिराज रोस्यारा
कैलाली । नगदेबाली र तरकारी बालीका लागि प्रख्यात रहेको कैलालीमा निषेधाज्ञा जारी भएपछि किसानको तरकारी बिक्नै छोडेको छ । अन्य समयमा हाट बजारबाट पहाडी जिल्लामा समेत निर्यात हुने गरेको तरकारी अहिले भने बारीबाटै खुद्रा मूल्यमा बेच्न किसान बाध्य भएका छन् ।
वर्षभरीको मेहनतको फलका लागि यही समय कुरेका किसानहरू तरकारी बारीमै कुहिन थालेपछि चिन्तित भएका छन् । गत वर्ष जस्तै यस वर्ष पनि हाटबजार र पहाडी जिल्लामा तरकारी पठाउन नपाएको धनगढी उप महानगरपालिकाका तरकारी किसान अरिफ अहमदले गुनासो गर्नुभयो ।
गत वर्ष पनि कोरोनाको प्रकोप नियन्त्रण गर्न सरकारले यही समयमा देशभरी लकडाउन गरेको थियो । यस वर्षपनि फेरि कोरोना प्रकोप बढेपछि यहि समयमा निषेधाज्ञा लगाउनु परेको हो । किसानले तरकारी बिक्री गर्ने समयमै बन्दाबन्दीको सामना गर्नुपर्दा तरकारीमा निकै घाटा ब्यहोर्नुपरेको धनगढी तरकारी किसान इर्सात खानको भनाइ छ ।
निषेधाज्ञालाई किसानका लागि केही खुकुलो गरिदिए उपभोक्ताले सुलभ दरमा तरकारी पाउने र किसानको मेहेनत पनि खेर नजाने किसानको माग छ । पहाडी जिल्लाहरूमा तरकारी पठाउन समेत बिचौलियाको खोजी गर्नुपर्दा समस्या झनै बढेको तरकारी किसान राजा अहमद बताउनुहुन्छ ।
यस्तो महामारीमा बन्दाबन्दी गर्नु जनता बचाउनकै लागि हो । कैलाली प्रसाशनले साताको तीन दिन तरकारी पसल तथा खाद्यान्न पसल सञ्चालन गर्न पाउने नियम बनाएको छ । तर यी तीन दिनमा पनि बिचौलियाको रजगज चल्दा किसान मर्काकामा परेका छन् । उपभोक्तालाई सिधै बिक्री गर्न पाए किसानले पक्कै पनि तरकारीको उचित मूल्य पाउने थिए ।
प्रतिक्रिया दिनुहोस्