
मिरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा छुट्टा–छुट्टै २८ वटा रिट निवेदन दर्ता भएका छन् ।
दर्ता भएका २८ वटा रिट मध्ये ९ वटा रिट संवैधानिक इजलासका लागि दर्ता भएको अदालतका सह–रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँ अनुसार २४ रिटमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गरिएको छ भने बाँकी ४ वटा रिटमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।
रिट निवेदकहरूले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकारले उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने, उपधारा ५ बमोजिम १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्न गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र प्रतिनिधिसभा पुनःस्थापना गनुपर्ने लगायतका माग राखेको दाहालले बताउनुभयो ।
शुक्रबारदेखि परेको रिटको अध्ययन गरी सर्वोच्चले आज मात्रै दर्ता गरेको हो ।
यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्