
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सोमबार १ सय ४६ मध्ये १ सय ३९ सांसदको उपस्थितिमा रिट दर्ता भएको हो ।
दर्ता रिटमा प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न, निर्वाचन आयोगलाई कुनै पनि गतिविधि नगर्न, शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न र विश्वासको मत लिने प्रबन्ध मिलाउने अन्तरिम आदेश दिन माग गरिएको छ ।
यस्तै, बजेट पारित गर्नका लागि प्रतिनिधिसभाको बैठक बोलाउन, संविधानको धारा ७६ को उपधारा ५ बमोजिक नियुक्ति हुने प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधिसभाका सदस्यलाई दल त्याग गरेको भनि कुनै कारबाही नगर्न, अध्यादेशमार्फत बजेट सार्वजनिक नगर्न र दुरगामी महत्वको काम कारबाही वा नीतिगत निर्णय नगर्न पनि अन्तरिम आदेशको माग गरिएको छ ।
यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्