
मानबहादुर वली
सुर्खेत । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा स्थानीय र प्रदेश सरकार जिम्मेवार नबन्दा स्थानीय सामाजिक संस्था र अभियन्ताहरूले पहल गर्न थालेका छन् ।
कोभिड–१९ सेल्फ हेल्प समूह, मोटेग्याङ्ग लगायत सामाजिक अभियान्ताले शव व्यवस्थापनमा जुटेका हुन् । आइतबार प्रदेश अस्पतालमा १० जनाको मृत्युु भएकोमा एउटा शव व्यवस्थापनमा आफन्तले गर्न नसकेपछि शव अन्त्यष्टिको सम्बन्धमा चिन्ता पर्यो ।
पहिला पनि सामाजिक कार्यमा सक्रिय युवाहरुको समूहले शव व्यवस्थापनका लागि दाउरा, गाडि, मट्टितेल र चित्ता तयार गरी सल्यानका कोरोनाबाट मृत्युु भएको शव व्यवस्थापन गरेका थिए । आफन्तले मृतक शव व्यवस्थान गर्न नसक्ने भएपछि सामाजिक अभियान्ताहरु अगाडि सरेको सामाजिक अभियन्ता अनिल ढकाल बताउनुहुन्छ ।
प्रदेश सरकार र संघीय सरकार सत्ता र शक्तिको आडमा कोरोनाका बिरामीको उपचार, कोरोना नियन्त्रण र मृतकको शव व्यवस्थापनमा उदासिन बनेको भन्दै संकटमा मानवता नर्विसिएर काम गरेको सुर्खेत सेल्फ हेल्प समुहका धर्मराज आचार्य बताउनुहुन्छ ।
अक्सिजनका लागि मेरो एक हजार अभियान सञ्चालन गरी कयौं बिरामीलाई मृत्युुको मुखबाट बचाएको समूहको दावी छ । एउटा समूहले यसरी सक्रिय भएर काम गर्न सक्दा सरकारले भने कोरोना नियन्त्रणमा उचित भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशमा एकातिर अक्सिजन अभावले कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने अर्कोतिर संक्रमण शहर भन्दा गाउँमा फैलिदो मात्रामा छ । सत्ता र शक्तिको दुरुपयोगमा लागेको सरकारले अक्सिजन सिलिन्डर व्यवस्थापन देखि आर्यघाटमा शव जलाउन अभियन्ता युवाहरूले गरेको कामबाट सिक्नुपर्ने स्थानीय केपी ढकाल बताउनुहुन्छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १ सय ६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । दोस्रो लहरको कोरोनाका कारण सुर्खेतमा १ सय २२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुइ÷दुई र अन्य चार व्यक्तिको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्