
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले खोप ल्याउन यथेष्ठ पहल नगरेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्वारा सोमबार भएको भर्चुअल कार्यक्रममा डा. कोइरालाले सरकारले पहल नगरेकाले अब कांग्रेसले पहल थाल्नुपर्ने बताउनुभयो । कोरोना परिक्षणको दायरालाई बढाउन कन्टयाक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।
फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । कुनै पनि बहानामा महाधिवेशन लम्ब्याउने मिल्ने अवस्था नरहेकाले महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अजय चौरासियाले कोरोनाबाट आक्रान्त भएका जनतालाई राहत दिने काममा सरकार असफल भएको आरोप लगाउनुभयो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले बजेट नदिँदा समस्या भएको बताउनुभयो । उपत्यकाका विभिन्न १० अस्पताललाई कोरोना उपचारका लागि कामपाले सहयोग गरेको उहाँकाे भनाइ छ ।
कार्यक्रममा सहभागी नेताहरूले कोभिड–१९ रोकथामका लागि नेपाली कांग्रेस एक भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्