१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफ्रिकी मुलुक मालीको राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मुक्त गर्न राष्ट्रसंघको अपील


0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मुक्त गर्न आग्रह गरेको छ ।

मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा राखिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न भनेका छन् ।

गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ । सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो ।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो ।

सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने आंकलन गरिएको छ ।

राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो ।

यो बीचमा सेनाले देशको शासन आफ्नो नियन्त्रणमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए ।