
काठमाडौं । आफ्नो फोटोसहितको स्टिकर टाँसेकाे अक्सिजन सिलिन्डर बाहिरिएपछि वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् ।
चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि आले सामाजिक सञ्जालको निशानामा परेका हुन् । सामाजिक सञ्जाल टुइटर , फेसबुकलगायतका सञ्जालमा मन्त्री आलेकाे आलोचना भइरहेकाे छ । यसअघि पनि भाषणकै कारण पटक पटक विवादमा परिसकेका छन् ।
गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् ।
अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा ‘नेपाल सरकारका माननीय बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूको ब्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।
७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीसहित त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पनि आफ्नो निर्वाचन क्षेत्र डोटीमा पठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्