
काठमाडौं । काठमाडौंको दुई बालमन्दिरका १० सुसारेसहित ५९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ५९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले हामीलाई जानकारी दिनुभयो ।
सिफलका ७० जनाको परीक्षण गर्दा ३६ जना र नक्सालको बालगृहमा रहेका २३ जनामा पोजिटिभ देखिएको बडालको भनाई छ । केही बालबालिकाको रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
दुवै बालगृहका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् । संक्रमित बालबालिकाहरू ८ महिनादेखि १० वर्षसम्मका रहेका छन् । दुईजना १८ वर्षका रहेका छन् ।
संक्रमित हुनेमा बालमन्दिरमा आश्रित केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरो लगायतका सामान्य लक्षण रहेको छ ।
एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएकोले सरकारसंग आइसोलेशनका लागि सरकारसंग सहयोगको पहल गरिरहेको बडालले जानकारी दिनुभयो ।
हाललाई संक्रमितहरुलाई नक्सालमा रहेको बहिरा विद्यालयलाई व्यवस्थापन गरिएको छ । त्यहाँको भवनमा नक्सालका बालबालिका राख्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि कार्यान्वयन नहुँदा ठाउँ अभाव भएको बडालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्