
एजेन्सी । अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको छ ।
अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाबारे अर्को चरणको छानबिन पारदर्शी सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गर्नुभएको हो ।
डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताउनुभयो ।
ह्वाइट हाउसले पनि डब्ल्यूएचओबाट विज्ञहरूद्वारा राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानविन गर्ने आशा गरेको जनाएको थियो । कोभिड–१९ सबैभन्दा पहिला सन् २०१९ मा डिसेम्बेरमा चीनको हुबेई प्रान्तको वुहानमा देखिएको थियो ।
गत मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै रहेको जनाएको थियो ।
हालै मात्र अमेरिकी जासूसी कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहान प्रयोगशालाका तीन शोधकर्ता विरामी परेको दाबी गरेको थियो ।
बेइजिङले भने अमेरिकी आरोप खारेज गर्दै कोरोना भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्