
काठमाडौं । नेपाली कांगेसले कोभिड–१९ को आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।
आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्न सरकारले संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको बैठकको ठहर छ । कांग्रेस सह–महामन्त्री डा.प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोशिसमा सरकार अघि बढेको बताउनुभयो ।
डा. महतले महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अबैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवंम् भत्र्सना गरेको जानकारी दिनुभयो ।
कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले संञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रुपमा राष्ट्रपति र सरकारको असंबैधानिक कदम विरुद्ध लाग्नुको साथै कानूनी र राजनीतिक लडाईलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्