१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरको ध्यान करमा मात्रै : बस्ती डुवानमा पर्ने भन्दै वडा र स्थानीयद्वारा काम रोक्न माग


0
Shares

डोलराज रानाभाट
चितवन । भरतपुर महानगरपालिकाले बढी राजश्व असुल्ने नाममा नारायणी नदीको दोहन गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । ज्ञानेश्वर सामुदायिक वन नजिक नारायणी नदीको दोहन गरेको र जनतालाइ डुवानमा पार्न लागेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

एकतातिर कोभिड–१९ को संक्रमण रोक्न प्रयास नगरेको अर्कोतर्फ नदीजन्य पदार्थ उत्खननको ठेक्का नलगाउन पटक–पटक आग्रह गरे पनि महानगरपालिकाले नटेरेको स्थानीयको आरोप छ । नदीमा दोहन गरेर राजश्व उठाए पनि विकास निर्माणको कार्यमा भने चासो नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले महानगरले यस ठाउँको विकासमा चासो नदिएको र कोभिड संक्रमणमा टिप्पर आतंक अति भएपछि विरोधमा उत्रिएको बताउनुभयो ।

विरोधमा आएका केही व्यक्तिहरूले नदीजन्य पदार्थ बोकेर आएका टिप्परमा ढुङ्गा प्रहार गरेर क्षति पुर्याएका छन् । १५ भन्दा बढी टिप्परको सिसा फुटेको छ । भरतपुर महानगरपालिकाले ४० हजार घनमिटरको नदीजन्य पदार्थ निकाल्न पाउने गरी १ करोड २७ लाख ८ सय रुपैयाँको टेण्डर आह्वान गरेको थियो ।

२ करोड ९२ लाख रुपैयाँमा भिष्म एण्ड व्रदर्श कन्सक्ट्रसन भरतपुर ११ ले ठेक्का पाएको थियो । गत वैशाख १ गतेदेखि नदीजन्य पदार्थ उत्खन्न सुरु गरे पनि कोभिड–१९ को समय आफूहरुले काम गर्न नसक्ने जानकारी गराएको ठेकेदार कम्पनीका कार्याकारी निर्देशक विकल क्षेत्री बताउनुहुन्छ ।

वडाअध्यक्ष अमृत राज हमालले अनुगमन लगायतको जिम्मा वडालाई दिएर काम गराउन पटक–पटक आग्रह गर्दा पनि महानगरले नसुनेको बताउनुहुन्छ । अहिले तत्काललाई नदीजन्य पदार्थ ओसार्न रोक्ने, सिसा फुटाएकाहरूलाई क्षतिपूर्ति भराउनेलगायतको सहमतिपछि आन्दोलित भीड केही मत्थर भएको थियो ।

एकतर्फ नदीजन्य पदार्थ उत्खननको ठेक्कामा वडाले असहमति जनाएको छ भने अर्कातिर महानगरपालिकाले ठेकेरदारलाई जबरजस्ती काम गर्न निर्देशन दिँदा जनताको आक्रोश बढेको हो । कर उठाउन मात्र ध्यान दिँदा प्राकृतिक स्रोतको व्यवस्थापनमा समस्या त आएकै छ, त्यसमाथि ठेकेदारले पटक–पटक अनुरोध गर्दासमेत काम नरोक्न दिएको निर्देशनले महानगरपालिकाको गैरेजिम्मेवारीपनलाई छर्लङ्ग पारेको छ ।