
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण भएको टिप्पणी गरेको छ ।
बुधबार अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमतिविना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गर्नु बदनियतपूर्ण भएको जनाएको छ ।
कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गरिनु हुँदैन र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने मान्यतामा राप्रपाको दृढ रहेको जनाउँदै विघटनको दुई दिनमै संसदमा विचाराधीन नागरिकता विधेयकलाई अध्यादेशको रूपमा जारी गर्नुमा सरकारको स्वार्थ देखिएको उल्लेख गरिएको छ ।
राप्रपाले नागरिकता विधेयकलाई सरकारले नै तीन बर्षदेखि पारित गर्न नदिएर अवरोध सिर्जना गरेको स्मरण गराउँदै अध्यादेश जारी गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले पेश गरेका महत्त्वपूर्ण संशोधन र सुझावलाई उपेक्षा गर्नुले पनि सरकारको बदनियत प्रमाणित भएको ठहर गरेको छ ।
अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत नराख्ने बताउँदै राप्रपाले कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अध्यादेश जारी गर्नु संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत भएको टिप्पणी गरेको छ ।
विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरित प्रावधान राखी जारी भएको अध्यादेश बारे पुनर्विचार गर्न सरकारसमक्ष राप्रपाले आग्रह गरेको छ । साथै, तराई मधेस लगायत देशको विभिन्न भागहरूमा रहेको नागरिकतासम्बन्धी समस्याको राष्ट्रिय हित अनुकूल सर्वपक्षीय सहमतिको आधारमा समाधान खोज्न समेत राप्रपाले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्