
प्रकाश नेपाल
इलाम । चिया किसान र उद्योगीबाट चियाको (क्लोन) प्रजाति विकासको अनुसन्धान माग भएपछि सरकारले नेपाली चियाको आफ्नै जात विकासको तयारी गरेको छ ।
अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्व बजारमा नेपाली ब्रान्डको चिया चिनाउन आफ्नै जातको विकास गर्न माग हुँदै आएको थियो । नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो । चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ ।
लामो अनुसन्धानपछि मात्र नेपाली चियामा नयाँ प्रजाति विकास गर्न सकिने भएकाले चिया तथा कफि विकास बोर्ड क्लोन विकासको तयारी गरको हो । चियासँगै कफिको पनि नेपाली क्लोनको विकास गर्ने गरि भारतका २ वटा विश्वविद्यालयसँग समन्वय भइरहेको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले बताउनुभयो ।
चिया तथा कफि विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्मा बजेटको व्यवस्था गरि आगामि आर्थिक वर्षबाट चियाको नेपाली जातको विकास गर्ने काम शुरु हुनेछ । क्लोन विकासका गर्ने स्थानको बोर्डले छनौट गरि नार्कका वैज्ञानीकबाट अध्ययनको काम हुनेछ ।
बिक्रम सम्बत १९२० सालमा चिया रोपण गरिएपनि नेपाली जातकै चियाका बिरुवाको विकास भएको छैन ।
तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट उपाहार पाएको चियाको बिऊबाट रोपिएको इलाम र सोक्तिम चिया बगानका बिरुवा छनोट गरी क्लोन विकास गर्ने तयारी छ । बिदेशी जातको चियाका बिरुवाले झाँगिएको नेपाली चिया बगानको विस्तार अन्त्य गर्न नेपाली जातकै बिरुवाको उत्पादनको योजना बनाइएको हो । नेपाली जातको चियाका बिरुवा विकास गर्न कम्तिमा ७ वर्ष लाग्नेछ । क्लोन विकासका लागि चिया तथा कफि विकास बोर्डको बजेटबाट प्रारम्भिक अध्ययनको काम इलाममा २०६५ बाट हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्