१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापामा अक्सिजन बैंक स्थापना, एक व्यक्ति एक सिलिण्डर अभियान सुरु


0
Shares

सुरेन्द्र भण्डारी

झापा। झापामा अक्सिजनको अभावसंगै कोरोना संक्रमितको उपचारमा समस्या देखिएपछि एक व्यक्ति एक अक्सिजन सिलिण्डर अभियान शुरु गरीएको छ ।

अभियान मार्फत चार सय अक्सिजन सिलिण्डर खरिद गर्दै सरकारलाई हस्तान्तरण गर्ने गरी अभियान संचालन गरीएको हो । यहि अभियान अन्र्तगत अहिले अक्सिजन वैंक नै स्थापनाको तयारी थालिएको छ ।

व्यक्तिगत तथा संस्थागत रुपमा ९ सय भन्दा बढी अक्सिजन सिलिन्डरबापतको रकम देश तथा विदेशबाट जम्मा भएको छ । संकलित रकमबाट अक्सिजन सिलिण्डर खरिद गरी अक्सिजन बैंक स्थापन गर्ने अभियानका संयोजक महेन्द्र कुमार गिरीले बताउनुभयो ।

अभियानले झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा एक करोड २० लाख रुपैयाँको पीसीआर ल्यावसहितको प्लाज्मा वैंकसमेत स्थापना गरेको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

क्लबलाई ललितपुरको हिमालयन डिस्टिलरी प्रालिले १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबले यसअघि नै अक्सिजन बैंक स्थापना गर्ने उद्देश्यले हिमालयन लगायत कम्पनीसँग सहयोगका लागि अनुरोध गरेको थियो । त्यस्तै, नेपाली सेनाका कर्णेल मुकाहाङ याक्थुम्बाबाट ८ थान सिलिन्डर बापतको १ लाख २० हजार रुपैयाँ प्राप्त भईसकेको छ ।

अक्सिजनको अभावमा कसैको ज्यान जान नपरोस् भन्दै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले अभियानलाई सहयोग गरेको क्लवका अध्यक्ष भेषराज भण्डारीले बताउनुभयो ।

त्यसो त जिल्लामा अक्सिजन सिलिण्डरको अभाव भएपछि नेपाल प्रहरीले समेत अक्सिजन सिलिण्डर सङ्कलन गर्दै अस्पताल – अस्पताल पठाई रहेको छ । तर, नागरिक समाजका तर्फबाट अक्सिजन प्लान्ट नै स्थापना गरेर नागरिकको उपचारका लागि सहयोगी भूमिका खेल्ने यो अभियान झापामा मात्रै होइन देश भरीकै लागि अनुकरणीय छ ।