१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा दुई साता निषेधाज्ञा थपिने


0
Shares

बैतडी । बैतडीमा जारी निषेधाज्ञा दुई हप्ता थप गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोनाको दोश्रो लहर आएपछि अब तेश्रो पटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ सम्म निषेधाज्ञा थपिएको थियो ।

समितिको बैठकले सिफारिस गरेअनुसार जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बिने बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

हाल जारी निषेधाज्ञा जेठ १७ गते राति १२ बजेसम्म लागू भएकोले र १७ पछि अर्को आदेश जारी हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकले कोरोना संक्रमितको उपचार र व्यवस्थापन गर्न संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षणलाई निरन्तरता दिने निर्णय गरेको छ ।

होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुको स्वास्थ्य अवस्था नियमित रूपमा अनुगमन गर्ने, जिल्ला कोभिड व्यवस्थापन समितिलाई बजेटको आवश्यकता भएमा स्थानीय तहहरुले सहयोग गर्नुपर्ने निर्णय पनि भएको छ ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हाल कोरोनाका ७ सय सक्रिय संक्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।