
पोखरा । लगातारको वर्षाले हिमाली जिल्ला मनाङसँगको यातायात सञ्जाल विच्छेद भएको छ । लमजुङकाे बेसीसहरदेखि मनाङको चामे जाने सडकको ठाउँ–ठाउँमा पहिरो झरेको छ भने काठेपुल पनि बगेका छन् ।
काठेपुल बग्दा मनाङसँगको यातायात सञ्जाल पूर्ण रूपमा विच्छेद भएको छ । मर्स्याङ्दीमा पानीको बहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत भनिएकाे छ ।
तीनदिनदेखिकाे निरन्तर वर्षाले धारापानी नजिकै पहिरो झरेकोले बाटो अवरुद्ध बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी(सिडिओ) विष्णु लामिछानेले बताउनुभयाे । वर्षाले चामे गाउँपालिका–१ को तिमाङखोला र स्यार्कु खोलाको काठेपुल पनि बगाएकाे छ ।
प्रजिअ लामिछानेका अनुसार मनाङको नासोँ गाउँपालिका–१ को ताल गाउँमा करिब ६० घर छन् । ती घर मर्स्याङ्दी नदीकै किनारमा छन् । सिरान क्षेत्रमा भीषण वर्षा भएकोले खोलाको वहावको जोखिम रहेको भन्दै तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन भनेको लामिछानेले बताउनुभयो ।
स्थानीय प्रहरी र लमजुङ प्रहरीलाई समेत अलर्ट बस्न भन्दै तालगाउँको बस्तीका बासिन्दालाई सचेत हुन आग्रह गरेको उहाँको भनाइ छ । ‘तालगाउँको बस्ती खोला किनारसँगै जोडिएको छ । सिरान क्षेत्रमा भीषण र लगातार वर्षा पनि भइरहेको छ । कुनैपनि बेला जे पनि हुनसक्छ,’ उनले भने, ‘त्यही भएर सचेत हुन भनेका छौं । प्रहरीलाई पनि अलर्ट गरेका छौं ।’
बंगालको खाडीमा न्यूनचापीय क्षेत्रमा विकसित भएको समुन्द्री आँधी ‘यास’ चक्रवातको असर गत मंगलबारदेखि नेपालमा पर्न थालेको थियो । जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा आरोहणमा रहेका आरोहीलाई यसअघि नै मौसममा बदली आउने भन्दै सचेत हुन आग्रह गरेको थियो । त्यसबाहेक हिमाली क्षेत्रमा हिमपात र वर्षा हुने भन्दै सबैतिर सचेत हुन समेत आग्रह गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मनाङले पनि सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा जोखिम रहेकोले सचेत हुन आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्