
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली’ भएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै दलको अनुशासनभन्दा बाहिर गएर नीतिहीन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली भएको बताउनुभएको हो ।
आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको साध्य नभएको भन्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दावी गर्नुभयो । आफूले सांसदहरूको अस्वस्थ्य गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नेहरूले जनताको सार्वभौम सत्तालाई अस्वीकार गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन । निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौम सत्तालाई अस्वीकार गर्नु हो । नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनितिक झेली काम हो ।’
ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरुको फेहरिस्त पनि प्रस्तुत गर्नुभयो । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरूका बारेमा जानकारी गराउँदै आफुले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको दावी गर्नुभयो ।
विगत ३ वर्ष यता नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको, संविधान पूर्ण रूपमा कार्यान्वयनमा आएको, संघीयताले स्थायित्व प्रदान गरेको, लामो सयम देखि रिक्त संवैधानिक निकायहरूले पूर्णता पाएको, हिंसाको बाटो हिँडेको समूह शान्ति प्रक्रियामा आएको, मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त हुनुको साथै पृथकतावादी गतिविधिको पनि अन्त्य हुनु यस कालखण्डको महत्वपूर्ण उपलब्धि रहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री ओलीले भौतिक पुर्वाधार, सडक, पुल निर्माण, खानेपानी, भूकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक र पुरातात्विक संरचनाको पुनर्निर्माण, सुरक्षित आवास निर्माण, सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरी काम सुरु भएको लगायतका कामहरूको विवरण नै प्रस्तुत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्