१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई दशकमै पहिलोपटक नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा बढीले ऋणात्मक


0
Shares

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।

शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१÷७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताउनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४ दशमल शून्य १ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड–१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७८मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ ।

पछिल्ला वर्षहरुमा वस्तु तथा सेवाको औषत मुल्यस्तर बाञ्छित सिमाभित्र नै रहेको जनाइएको छ । आर्थिक वर्ष ७६÷७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैयाँ रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ ।

त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।

मन्त्रालयले कोभिडबाट प्रभावित उद्योग व्यवसायका लागि २०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ । कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरी ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला वर्षमा मानव विकास सूचकाङ्कमा सुधार हुदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्ष भन्दा सुधार भई शून्य दशमलब ६ पुगेको छ ।

पुनर्निर्माणको क्षेत्रमा यस वर्ष ऐतिहासिक सफलता हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पुँजीबजार प्रति लगानीकर्ताको आकर्षण बढेको, विमा व्यवसायको दायरा विस्तार भएको निर्यातमा वृद्धि भएको र शोधानान्तर तथा राजश्व संकलन लगायत अर्थतन्त्रका समष्ठीगत सूचकहरू सकारात्मक रहेको जनाएको छ ।