
बाँके । भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलापछि स्वास्थ्यकर्मीहरू कामम फर्किएका छन् ।
स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका मानबहादुर रावतसहित तीन जनाविरूद्द ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरू कामम फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफमा दोषीलाई कारबाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मी काममा फर्केका हुन् ।
गएराति दाङका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई आक्रमण गरेपछि स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनमा उत्रिएका थिए । उनीहरुको प्रदर्शनका कारण अस्पतालको कोभिड वार्डको उपचार प्रभावित भएको थियो । विरामीको मृत्युपछि कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए । घटनामा संलग्न मृतकका दुई भाइ र मृतकका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
यता मृतकका आफन्तले भने चिकित्सक र नर्सको लापरबाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले आफूहरूले आक्रमण नगरेको बताएका छन् । स्वास्थ्यकर्मीले बिरामीको मनोबल गिर्ने गरी व्यवहार गरेको, बिरामीलाई फरक व्यवहार गर्ने गरेको, आईसीयूमा बोल्दै गरेको बिरामीलाई जबर्जस्ती भेन्टिलेटरमा सारेको बिरामीका आफन्तको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्