
काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले असारमा हुने भनिएको मेडिकल विद्यार्थीको पीजी परीक्षा सार्न सक्रियता देखाउनुभएको छ ।
कोभिड–१९ को महामारीको सन्दर्भमा पीजीको परीक्षा गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै थापाले परीक्षा सार्न अनुरोध गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई भेट्नुभएको छ ।
परीक्षाको तयारीमा रहेका ५ हजारभन्दा बढी चिकित्सक जनशक्तिलाई ४–५ महिना परीक्षा नहुने र परीक्षा मिति तोक्दा ४५ दिनको तयारी समय राखेर तोक्नका लागि निर्णय गर्न अनुरोध गर्दै नेता थापाले उपाध्यक्ष गिरीलाई भेट्नुभएको हो । त्यसरी निर्णय गर्दा ५ हजार भन्दा बढी चिकित्सकलाई महामारीमा लगाउने पाइने योजना थापाले उपाध्यक्षसामु प्रस्तुत गर्नुभएको छ ।
आफ्नो प्रस्तावपछि उपाध्यक्ष गिरीले उक्त निर्णय केही दिनभित्रै गर्ने प्रतिबद्धता जनाउनुभएको थापाले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।
यस्तै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अंक थप पाउने नियम ल्याउन पनि आग्रह गर्नुभएको छ ।
सरकारले यति काम गरे अहिलेको कोभिड महामारीमा जनशक्तिको अभावलाई केही कम गर्न ठूलो मद्दत पुग्ने थापाको दावी छ ।
प्रतिक्रिया दिनुहोस्