७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुपाल्चोकमा कोरोना उपचार केन्द्र बन्दै, सरकारी पहलसंगै नीजि क्षेत्रको पनि सहयोग


0
Shares

किरण थापा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा संक्रमितको संख्या १४ सयभन्दा बढी पुगि सकेको छ भने त्यसमध्ये १२ जना कोरोना संक्रमितले ज्यान गुमाइ सकेका छन् । तीमध्ये अधिकांशले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको हो ।

सर्वसाधरणले अक्सिजनको अभावमा मृत्युवरण गर्नु परेपछि पुर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतको पहलमा अक्सिजनसहितको एक सय बेडको निःशुल्क कोभीड–१९ उपचार केन्द्र संचालन गर्न थालिएको छ । यस महामारीबाट नागरिकलाई बचाउन जिल्लामा कोभिड– १९ उपचार केन्द्र संचालन गर्ने काम भइरहेको बस्नेतको भनाइ छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा, मेलम्ची, नवलपुरलगायतका स्थानमा स्थापना गर्ने गरी एक सय बेडको कोभिड– १९ सेवा केन्द्र स्थापना हुनेछ । सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने छ । कोभिड– १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने योजना रहेको बस्नेतले बताउनुभयो ।

सिन्धुपाल्चोकमा अक्सिजन प्लाण्टसमेत स्थापना हुने भएको छ । सुनकोशी गाउँपालिकाको अगुवाइमा विभिन्न संघ संस्थाको लगानीमा एक महिनाभित्र अक्सिजन प्लाण्ट स्थापना हुन लागेको सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जि.सि ले जानकारी दिनुभयो ।

समयमै कन्टैक्ट ट्रेसिङ्गको कामलाई प्राथमिकतामा राखेर उपचार विधि अपनाउन सके धेरैको ज्यान जोगिने ह्याम्स अस्पतालका प्रमुख रामशरण भण्डारीले बताउनुभयो । कोरोना रोकथामका लागि स्थानीय निकाय, संघ–संस्था र व्यक्तिगत रुपमा सबैको साझा प्रयास आवश्यक देखिन्छ । त्यसैले कोरोना संक्रमितको उपचारका लागि अहिले सरकारी पहलसँगै निजि क्षेत्रको सहयोग पनि आवश्यक छ ।