
बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेको तर्फबाट नियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टिकरण सोधेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिनुभयो ।
यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टिकरण सोधिएको रावलले बताउनुभयो । रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टिकरण सोधिएको छ ।
एमालेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा मन्त्री र राज्यमन्त्रीको नियुक्ति लिएकाले स्पष्टिकरण सोधिएको रावलले बताउनुभयो ।
यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णयविपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीलाई पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्