१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राप्रपाले मनायो पार्टी स्थापना दिवस, राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा केन्द्रीत हुन जोड


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस मनाएको छ । भर्चुअल माध्यमबाट भएको कार्यक्रमको पार्टीका संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दीप प्रज्ववल गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा लाग्न नेता तथा कार्यकतालाई आग्रह गुर्नभएको छ । उहाँले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बाटो बाट नभइ राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सकिने तर्क गर्नुभयो ।

अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले विगतका कमिकमजोरी, सफलता र असफलताको समीक्षा गर्दै पार्टीलाई गन्तव्य तर्फ अगाडि बढाउनुपर्ने बताउनुभयो । काङ्ग्रेस र कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको आरोप लगाउँदै उहाँले मुलुकलाई सही दिशा दिन राप्रपा बलियो हुनुपर्ने धारणा राख्नुभयो ।