
काठमाडौं । इराकासँग भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ । इराकको बरसास्थित अल फेहा रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले २ गोल गर्दा इराकले ४ गोल गरेको थियो ।
खेलको सातौं मिनेटमा इराकका अला अब्दुल जहराले इराकलाई अग्रता दिलाए पनि त्यसको एक मिनेटमै नेपालले पुनरागमन गर्दै खेललाई १–१ को स्थितिमा पुर्याएको थियो । अञ्जन विष्टको प्रहारलाई इराकका डिफेन्डर अहमद इब्राहिम खलाफले नेटको दिशा देखाएका थिए ।
खेलको २९औं मिनेटमा नेपालबाट डेब्यु गरेका मनिष डाँगीको गोलले नेपालाई २–१ को अग्रता दिलायो । इराकी डिफेन्डर र गोलकिपरलाई बिट गर्दै डाँगीले एकदमै सटिक प्रहारले जाली चुमेको थियो ।
आधा घण्टासम्म खेलमा डटेर रहेको नेपालको प्रदर्शन त्यसपछि भने खस्किन थाल्यो । नेपालको खस्किएको प्रदर्शनको फाइदा इराकी टोलीले उठाउने मौका पायो । खेलको ३९ औं मिनेटमा मोहम्मद अब्दुुलजहराले र त्यसको पाँच मिनेटभित्रै अयमन हुसेनले चौथो गोल थप्दै पहिलो हाफसम्म खेललाई ४–२ को स्थितिमा पुर्याए ।
दोस्रो हाफको ६७ र ७५औं मिनेटमा अलि अलशमारी र सज्जाद जसीमको गोलको मद्दतले इराकले ६–२ गोल अन्तरले मैत्रीपूर्ण खेल जितेको हो । यसअघि २० वर्ष अघि इराकसँग भएको खेलमा पनि इराकले ४–२ गोलले जितेको थियो ।
मैत्रीपूर्ण खेलमा नेपालका लागि गोलकर्ता डाँगीसँगै डिफेन्डर गौतम श्रेष्ठले पनि सिनियर टीममा डेब्यु गरेका हुन् ।
खेलपछि प्रतिक्रिया दिँदै प्रशिक्षक अब्दुल्ला अलमुतारीले हारको बावजुद पनि नेपालको खेल एकदमै सकारात्मक भएको बताउनुभएको छ । हारको दोष आफूले लिने बताउँदै उहाँले टीमलाई समय र धैर्यताको आवश्यकता देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केही समय पर्खनुस्, खेलाडीलाई समय र धैर्य चाहिएको छ । केही समय प्रतिक्षा गर्दा सबै ठिक हुनेछ ।’
नेपालले २–१ ले अग्रता लिएको समयमा ३–१ बनाउन सक्ने राम्रो अवसर पाएको उल्लेख गर्दै प्रशिक्षक अलमुतारीले फुटबलमा कहिलेकाहीँ एउटा अवसर गुमाएपछि सबैकुरा परिवर्तन भइदिने बताउनुभयो । खेलाडीले अझै राम्रो गर्नका लागि समय र विश्वासको जरुरत भएको उहाँको भनाइ छ ।
खेलपछि गोलकर्ता मनिष डाँगीले हार निराशाजनक भए पनि खेलमा केही सकरात्मक पाटाहरू देखिएको बताउनुभयो । खेल आफ्ना लागि सिक्नका लागि राम्रो अनुभव भएको उहाँको भनाइ छ ।
नेपालको फुटबल टीम अब विश्वकप छनोट खेल्नका लागि आइतबार कुवेत जाँदैछ । त्यहाँ उसले चाइजिन ताइपेइसँग ३ जुन, जोर्डनसँग ७ जुन र अस्ट्रेलियासँग ११ जुनमा प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्