२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


छाउ, नछुनी, पिरियड अर्थात् रजस्वला यस कारण बार्नुपर्छ


2.171k
Shares

संजिव कार्की /डाक्टर सुजाता पन्त 

महिनावारी , माशिक धर्म, पिरियड अर्थात छाउ, नछुने जे भने पनि यो स्त्रीहरुमा एक उमेर हददेखि अर्को उमेर समुहसम्म हुने  नियमित , प्राकृतिक , स्वाभाविक र गौरवको विषय हो l हरेक स्त्रीजातिको लागि गर्वको कुरा हो l प्रकृतिमा फल लाघ्नु अघि फूल फुलेको स्थिति हो महिनावारी l नछुने बार्नु ठिक हो भन्ने तथ्यलाई आधार मानेर यसको विषय प्रवेश गर्नु उचित लागेको छ l स्वास्थ्य र शारीरिक संवेदनशीलताको कारण पनि छाउ बार्नु अनुचित होइन l पिरियड बार्नुको अर्थ धार्मिक पाप र अपराधको अर्थमा आजको समाजले बुझ्न र ब्याख्या गर्न कति पनि सुहाउदैन मिल्दैन र वैज्ञानिक तर्क र आधार भेटिन्न तर यो समय अपवित्र र अपसकुन होइन ,विल्कुल अधर्मसँग जोडन सकिन्न बरु यसलाई धर्मसँग जोडेर हेर्नु मानवीय ढंगले पालन गर्नु यसको निष्ठामा बस्नुमा बिज्ञान छ, तर्क छ ,धर्म छ l

धर्म यसकारण कि यो बेला नारीमा हुने मानसिक उतार चढाव शारीरिक कमजोरी, थकाई र रक्तश्रावको कारण शरीरले बिश्राम चाहेको हुन्छ अत यो अबधिभर बिश्राम गर्नुलाई धर्मसँग जोडन सकिन्छ , बिरामी रोगी र असक्त काममा नजानु धर्म हो , शरीरले न धान्दा न धान्दै काममा जोतिनु बैज्ञानिक पनि हुन्न त्यसैले यो बेला आराम र ध्यानको जरुरत पर्छ l ध्यान, आराम र बिश्रामलाई मध्यनजर गरेर मासिक धर्मलाई बार्नु आवश्यक हो l आरामदायी अवस्थामा रहनु , सफा र स्वच्छ रहेर कम शारीरिक परिश्रम गर्नु यतिबेलाको अवस्था र बाध्यता हो l

पर बस्नुको अर्थ छाउ गोठ या अन्तै अलग्गै बस्नु , अन्तै रहनु बिना स्याहार बिना आहार रहनु होइन , बरु आफ्नो शरीरको विशेष ख्याल गर्नु , उचित देखभाल गर्नु , स्वास्थ्य वर्द्दक पोषणयुक्तखाना खानु र आरामको अवस्थामा रहनु हो l स्त्री जातीको माषिक धर्म अर्थात् उनको शरिरबाट रगत बहेकै कारण मानव जातिको अस्तित्व पृथ्वीमा भएको हो त्यसैले यो प्राकृतिक कुरा स्वाभाविक सृष्टीको अनुपम बरदानलाई घृणा, अपमान, र छोइछिटोको सबालबाट बर्जित बनाइनु पर्छ , हुनुपर्छ l हाम्रो समाजमा नछुने हुदाँ जे बारिन्छ जे बर्जित गरिन्छ त्यो कुनैपनि मानेमा वैज्ञानिक, ब्यबहारिक र मानवीय छैन जसलाई परिवर्तन गर्न सकिएन भने अझै कति चेली छाउ गोठमा बसेर मृत्यु रोज्न बाध्य हुनेछन l मृत्यु यस अर्थमा कि छाउ गोठ बस्दा सर्पदंसको सम्भावना बढी रहन्छ र छाउ गोठमा सर्पले टोकेर मान्छे मरेको समाचार बारम्बार सुन्न पाइन्छ l

म एक मेडिकल डाक्टर भनौ मेडिकल साइन्सकी बिद्यार्थी, एक आम महिला मेरा निजि अनुभव र अनुभूति पनि शेयर गरेर हाम्रो समाजमा बिध्यमान नछुनी हुने अवस्थाको चित्र प्रस्तुत गर्दैछु l तिहारको झिलिमिली मौसम थियो मखमली , गोदावरी, सयपत्री लगायत फूलहरु फुलिसकेका थिए तिहारको रौनक जताततै देख्न पाइन्थ्यो सधै व्यस्त र जागरुक भएर रहनुपर्ने , चाडबाड, आफन्त र रमाइलो भन्दा बिरमीसंगको समिपमा रहनु डाक्टरी पेशाको धर्म र मर्म हो l लक्ष्मी पुजाको दिन थियो संधै झैँ ड्युटी जान्छु , बेड-बेड चाहर्छु ,चाडबाडको बेला भएकोले सुधार भएका र सुधार उन्मुख बिरामीलाई डिस्चार्ज गरेर घर पठाइदिने कागजजमा साइन गिरिदिन्छु l डिस्चार्ज हुने बिरामीको पालोमा एकजना भर्खर बिहे भएकी तर दुर्घटनामा परेर अस्पताल भर्ना बसेकी  महिला थिइन् उनको स्वास्थ्यमा क्रमिक सुधार आएको थियो उनको अप्रेशन सफल भएर थोरै मात्र कमजोरी बाँकी थियो तिहारको बेला उनलाई डिस्चार्ज गर्ने मनशाय सहित गएर भने तपाई अहिले घर जानुस तिहार मनाउनुस तत्काल समस्या केही छैन भएमा आउनुहोला मैले यति मात्र भनेको थिए उनले भनिन डाक्टर साब म अहिले घर जान्न तिहार सम्म अस्पताल नै राखिदिनुस न म तिहार पछि मात्रै घर जान्छु l म अचम्ममा परे चाडबाडको बेला गम्भीर र अत्यन्त जटिल स्वस्थ्य स्थिति भएका मान्छे समेत घर मिस गर्छन घर जान पाए हुन्थ्यो भन्छन तर यी महिला यो बेला पनि घर जान मन गर्दिनन मलाई मनमा चिसो पस्यो र उत्सुकतापूर्वक सोधे किन बैनी ? उनी, मौन बसिन तर उनको मौनता आँखाको बाटो भएर ओर्लियो l वास्तविकता उनी नछुने भएकी रहिछन त्यस्तो बेला घर पुग्नु उनका लागि नर्क गए बराबर रहेछ l

सासु कडा हुनुहुन्छ तिहारको बेला घरमा पुजाआजा हुन्छ छाइछुइ यताउता गाह्रो हुन्छ l माइतमा पनि चार वर्ष पछि विदेसबाट तिहारको लागि भाइ आएको थियो तर मेरो दुर्भाग्य नछुने भए टीका लगाउन पाइएन l ती महिलाको कुराले म निशव्द भए आखिर यही समाजमा हुर्के बढे र पढेकी नारी हो मपनि l महिनावारी र रक्तश्रावप्रति हाम्रो समाजको सोच धारणा र अन्धविश्वासको कारण महिला माथिको यो भेदभाव , छुवाछुत सम्झेर जातीय छुवाछुत र दलित भएर संधै छुवाछुतमा जीवन जिउन बाध्य ६० लाख नेपाली दाजुभाइ दिदीबहिनीको सामुहिक पीडाले झस्कायो, नामिठोसंग दुखायो l अन्ध विश्वास, अन्ध परम्परा र गलत संस्कार अवैज्ञानिक सोचले मान्छे, मान्छेप्रति विभेद गर्छ जसलाई चिर्नु र फाल्नु अत्यावश्यक छ l

म एम बि बि एस पढिरहेको बेला मेरो पनि तिहारको समयमा महिनावारी भएको थियो म तिहारमा घर नजाने सोचमा थिए म आफै मेडिकल क्षेत्रको मान्छे मैले पनि केही बुझेको छु, जानेको छु तर घरपरिवारमा परम्परागत रुपमा चली आएको चलनलाई पारिवारिक मर्यादाको खातिर कसरी तोड्नु भन्ने लाग्थ्यो, समाजको मनोविज्ञानसँग कसरी सामना गरौ भन्ने लाग्थ्यो तर त्यहीबेला मेरो दाइले फोन गरेर तिहारमा जसरी पनि आउन र टिका लगाएर समाजको त्यो भ्रम तोडन मलाई उत्प्रेरित गर्नुभयो l मेरो दादाले भनेको कुरा म सम्झन्छु उंहाले भन्नु भएको थियो तिमी हाम्रो घरकी प्रिय मान्छे तिमी बिनाको हाम्रो तिहार अपुरो अधुरो र खल्लो हुन्छ मैले मेरी बहिनी हुँदाहुँदै मेरो निधार खाली राखेर म यो कुप्रथालाई निरन्तरता दिन सक्दिन प्रिय बहिनि आऊ मेरो निधार खाली राखेर तिम्रो मन भारी पारेर तिहार खल्लो पार्न हुन्न l मैले महिनावारी भएकै समयमा मेरा दाइभाइलाई तिहारको टीका लगाए l मेरो जस्तो त्यो भाग्य त्यो अवसर सबै नेपाली दिदीबहिनीको लागि होस् भनेर नै मैले मेरो निजि अनुभव पनि बाड्ने चेस्टा गरेको छु l मैले महिनावारी भएको समयमा पनि टिका लगाएको थुप्रै वर्षहरु बितिसके मेरो घर परिवार मेरो दाइ भाइ र म स्वयंलाई कुनै अपसकुन भएको छैन र मैले महिनावारी भएकै कारण टीका लगाउदा कुनै अशुभ हुदैन पनि l

तिहारको समय म आफ्नो क्वाटरमा थिए यत्तिकैबेला इमर्जेन्सीबाट फोन आउछ डाक्टर साब एउटा बिरामी ल्याएका छन सिरियस छ, म हतार हतार इमर्जेन्सी पुग्छु, एउटी १६,१७ वर्षकी केटीलाई बाटो क्रस गर्दा जेब्राक्रसमा नै बाइकले ठक्कर दिएछ केटी पुरै बेहोस र रक्ताम्य छन, नर्सहरु प्रेसर नाप्न र नाडी छाम्न लागेका रहेछन अलिपर बसेर उनका बाबु रुदै भन्छन डाक्टर साब रगत बेस्सरी बगेको छ कपास राखेर थिच्दिनुस, मैले छुन मिल्दैन बाउ हू, ऊ पर सरेकी छ l राम्रो हेर्दिनु l म अचम्मित भए छोरी मर्ने , बाच्ने ठेगान छैन यति खराब हालतमा छे , टाउकोबाट रगतको खोलो बहेको छ तर एउटा बाबु छोरी नछुने भएको कारण छुन नहुने चिन्ताले ग्रस्त छ l खै कस्तो संस्कार हो हाम्रो मर्न लागेको छोरीलाई महिनावारी भएको कारण बाबुले छुन मिल्दैन l यहाँनेर देखिन्छ आफ्नी छोरीको ज्यान भन्दा ठुलो र महत्वपूर्ण भएको छ संस्कार , नछुने बार्ने प्रथा l

हाम्रो समाजमा बिध्यमान यस्तै कुसंस्कार र प्रथाको कारण कति चेलीले अनाहकमा जीवन गुमाउनु परेको छ l कतिलाई अभिशप्त जिन्दगी बाच्नु परेको छ lमहिनावारी या माशिक धर्म हरेक प्रजनन सामान्य फिजियोलोजी हो l कुनैपनि महिला आमा बन्नको लागि शारीरिकरुपमा सक्षम छिन भन्ने आधार हो महिनावारी नकी जीवनकै अभिशाप ? यो प्राकृतिक वरदान हो कसैको छनौट रहर र बाध्यता होइन l यसलाई ठुलो र जटिल बनाएर हेर्नु जरुरि छैन l महिनावारीलाई निक्रिस्ट सोचेर छुट्टै राख्नु पर्दैन l छुट्टै बस्न सकिन्छ तर कुनामा लुकेरै बस्नु पर्ने, छाउ गोठमै बस्नुपर्ने लगायत यावत कुरा  वाइयात हुन् ,निन्दनीय छन l महिनावारी भएकाबेला कतिपयलाई असाध्यै कस्ट र पिडा हुन्छ त्यो बेला विश्राम लिनु, पिडाकम गर्ने खानेकुरा खानु र कमजोरी हटाउने स्वास्थ्य वर्द्दक पौस्टिक खानेकुराको आवश्यकता शरीरलाई हुन्छ रक्तश्रावको कारण शरीरले कमजोरी अनुभव गरेको हुन्छ यतिबेला रगत बढ्ने खानेकुरा शरीरको लागि आवश्यक हो l महिनावारी हुदा शरीरवाट रगत बग्ने हुनाले तत्कालिन चेतनाले यो अवधिलाई गलत रुपमा बुझ्यो, रगत बग्दा फोहोर हुने देखिने हुदा जतिबेला मान्छेहरुसंग लगाउने कपडा हुदैनथ्यो , पात पतिंगर बेर्नु पर्थ्यो त्यतिबेला बनेको संस्कार आज पर्यन्त चल्नु र जीवित रहनु अब हाम्रो समाजको लज्जा हो l

अहिले महिनावारी हुदा लगाउने प्याडको आविष्कार भएको छ , प्याड नहुने नपुग्ने ठाउँमा पनि कपडा पुगेको छ l सफा कपडालाई पनि प्याडको रुपमा पर्योग गर्न सकिन्छ l त्यो यूग जतिबेला कपडा थिएन, चेतना कम थियो त्यतिबेला निर्मित पर बस्ने यो संस्कार अब स्वास्थ्य शिक्षा, सामग्री उपलब्धताको दृष्टिले, विज्ञान सम्मत धारणाले आकाश जमिनको भिन्नतामा छ त्यसैले अब यसलाई कायम नै राख्नु भनेको महिलामाथि दमन गर्नु हो , मानसिक र शारीरिक पिडा दिनु हो , मान्छेलाई मान्छेको ब्यबहार नगर्नु हो तसर्थ अब यो बदल्नुको विकल्प छैन l

विगत र परम्पराबाट राम्रा विज्ञानसम्मत र चरित्र बनाउने कुरा सिक्ने हो यस्ता अवैज्ञानिक मान्यता , महिनावारीको छोइछिटो, दलित भनेर भेदभाव, छुवाछुत, बोक्सी आदि जस्ता समाजका कलंक अन्धविश्वास , कुरीति र घीनलाग्दा अमर्यादालाई यथाशक्य मृत घोषणा गरेर अन्त्यस्टि गर्न ढिला गर्नु मानव हित प्रतिकुल हुन्छन l हाम्री आमा महिनावारी हुदैनथिन भने हाम्रो अस्तित्व पृथ्वीमा जीवित हुदैनथ्यो  l हरेक नारी भित्र रहेको शारीरिक प्रकृयालाई सम्मान गरौ , शारीरिक जटिलता पैदा हुने संवेदनशील घडीमा अर्थात नछुने भएको बेला महिलालाई यथोचित हेरचाह , सम्मान र मर्यादा गरौ नारी अस्मिताको रक्षा सम्मान र स्नेहले मानव जीवन अरु श्रेयस्कर र सभ्य हुनेछ l सुरक्षित र मर्यादित महिनावारी नै आजको मानवोचित व्यबहार  नै पद्धती र जीवन शैली हो ।