
उपेन्द्र खनाल
तनहुँ । तनहुँको दमौली अस्पताल परिसरमा रहेको सत्रुघन मन्जुश्री डायलाइसिस युनिटमा उपचारका लागि टाढाटाढाबाट बिरामीहरु आउने गर्दछन् । तर कोभिड– १९ का कारण पछिल्लो निषेधाज्ञाले उनीहरुलाई डायलाइसिस गराउन समस्या भएको छ ।
सबैभन्दा बढी ग्रामीण क्षेत्रका बिरामी समस्यामा परेका छन् । रिसिङ गाउँपालिका– १ कोइदिमका तिलबहादुर थापा प्रत्येक बिहिबार र सोमबार श्रीमतीलाई डायलाइसिस गराउन दमौली अस्पताल ल्याउँछन् । निषेधाज्ञाका कारण गाउँबाट श्रीमती मिनमाया थापालाई तीन घण्टाभन्दा बढी बोकेर हिँड्नु परेको तिलबहादुर थापाले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा भनेको समयमा एम्वुलेन्स नपाइने हुँदा अधिकांशले बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यता छ । बन्दीपुर गाउँपालिका– ५ कलचोकबाट आएका लिलाबहादुर मगरले आफ्नो घरमा सवारी साधन नभएकाले छिमेकीको मोटरसाइकलमा पेटोल हालेर डायलाइसिस गराउन आएको बताउनुभयो ।
सवारीसाधन रिजर्भ गर्दा महंगो पर्ने भएकाले आर्थिकस्तर कमजोर भएकाहरु बढी मारमा परेका हुन् । दमौली अस्पताल परिसरमा रहेको सत्रुघन मन्जु डायलाइसिस युनिटमा सेवा लिन तनहुँसहित गोर्खा, लमजुङ, स्याङजाबाटसमेत बिरामी आउने गर्दछन् ।
बन्दका कारण वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । अहिले ६० जना बिरामीले डायलाइसिस गरिरहेको सत्रुघन मन्जु डायलाइसिस युनिटका इन्चार्ज शैलेन्द्र पण्डितले बताउनुभयो । कोरोनाको महामारी फैलिँदै गएपछि गरिएको निषेधाज्ञाले आर्थिक अवस्था कमजोर भएका डायलाइसिसका बिरामीलाई पीडामाथि पीडा थपेको छ ।
प्रतिक्रिया दिनुहोस्