
प्रकाश पाक्साँवा
तेह्रथुम । कोरोना महामारीका कारण तेह्रथुमको सदरमुकाम म्याङलुङलगायतका होटल व्यावसायीहरु संकटमा परेका छन् । पर्यटकीय सिजनमा समेत पर्यटक नआउँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।
कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि तेह्रथुमको म्याङलुङलगायत जिल्लाका सबै शहर सुनसान छन् । दैनिक आयोजना हुने तालीम, गोष्ठी, विवाहलगायतका सामुहिक कार्यक्रमहरुले भरिभराउ हुने तेह्रथुमका होटलहरु कोरोनाका कारण अहिले ठप्प छ ।
गतवर्ष पनि कोरोनाका कारण थिलोथिलो भएको होटल व्यावसाय फस्टाउनै नपाइ पुन अस्तव्यस्त बनेको छ । कोरोना महामारीका कारण होटल व्यवसायमा ठूलो क्षति पुगेको होटल व्यवसायी फुपुटी शेर्पाको गुनासो छ ।
सरकारले पनि संक्रमणको जोखिमलाई ध्यानमा राख्दै होटल सञ्चालनमा कडाइ गरेको छ । आर्थिक उपार्जनको राम्रो सम्भावना बोकेर सदरमुकाम म्याङलुङमा मात्र साना ठूला गरी एक सयभन्दा बढी होटल सञ्चालनमा छन् । भाडामा घर लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई मासिक भाडा तिर्नसमेत कठिन भएको होटल व्यवसायी राजकुमार लिम्बुले बताउनुभयो ।
गतवर्ष पनि लकडाउनका कारण करिब चार महिना होटलहरु बन्द भएका थिए । अहिले पनि संक्रमणको जोखिमका कारण होटलहरु बन्द भएपछि यो व्यवसाय नै संकटमा परेको छ । कोरोनाका कारण बितेको चार महिनामा मात्रै झण्डै आठ प्रतिशतले होटल व्यवसायबाट विस्थापित हुनु परेको व्यावसायी बताउँछन ।
प्रतिक्रिया दिनुहोस्