
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाउनुभएको छ ।
दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको टिप्पणी गर्दै ढकालले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाउनुभयो । आफूलाई बहुलवादी लोकतन्त्रको नेतृत्वकर्ता ठान्ने कांग्रेसले पार्टी अरुको घर झगडा गराएर सत्ताको लागि मरिमेट्नु गलत भएको बताउनुभयो ।
मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने तर्क गर्नुभयो । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उहाँको भनाइ छ ।
मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्