
विनोदसिंह विष्ट
बैतडी । बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको हो ।
जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म कायम रहने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश दिनुभएको छ । कोरोनाको दोश्रो लहर आएपछि तेश्रो पटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ सम्म निषेधाज्ञा थपिएको थियो ।
कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले पनि आलोपालो मिलाई हप्तामा तीनदिन मात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै, पूर्व स्वीकृति लिएका सवारी साधन पनि अब जिल्लामा बिहान ६ देखि बेलुका ७ बजे सम्म मात्रै सञ्चालन हुनेछन् भने जिल्ला भित्रिने सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ । गाडीमा रहेका व्यक्तिहरूको खोड्पेमा एन्टिजेन परीक्षण गरिने र नेगेटिभ आएकाहरूलाई गन्तव्यमा पठाइनेछ भने पोजेटिभ आएकाहरूलाई आइसोलेसनमा राखिने जनाइएको छ ।
विकास निर्माणको हक भने सम्बन्धित योजनाको प्रमुखको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ भने विवाह ब्रतबन्ध जस्ता कार्यहरूमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ ।
आदेशको उल्लंघन गरिएमा कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।
भारतसँग सीमा जोडिएका बैतडी जिल्लामा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्