
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने जनाएकाे छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगव्याधीले धेरैलाई असर गर्नसक्ने बताउनुभएको हो ।
दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताउनुभयो । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पोहोरभन्दा यसपटक झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुपर्यो । यसवर्ष बढी पानी पर्ने देखिन्छ त्यसकारण झन् कहालीलाग्दो हुनसक्छ ।’
डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १ सय २० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्न उहाँले सुझाव दिनुभएको छ ।
उहाँले विपद्बाट बच्न र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफूहरूले प्रेसित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्